हेटौंडा गोल्डकप भोलिबाट,उद्घाटन खेलमा मकवानपुर-११ र सेन्ट्रल कलेज विएसी भरतपुर भिड्दै

हेटौंडा / हेटौंडामा भोलि शुक्रबारबाट ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।


भोलिबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा सुरु हुने खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजक विजय युथ क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । उनले भोलिबाट सुरु हुने गोल्डकपको उद्घाटन खेल मकवानपुर-११ र सेन्ट्रल कलेज विएसी भरतपुर बिच हुने बताए ।

उनले भने “माघ २३ गते बाट क्याम्पसको खेल मैदानमा हुने भनिएको गोल्डकप विद्यार्थीको परीक्षाका कारण भोलि शुक्रबार १६ गतेबाटनै सुरु गर्न लागेको छौ । भोलिबाट खेल सुरु हुँदै छ,बेलुका सम्म सबै तयारी पुरा गर्छौ । खेलको उद्घाटन भोलि दिउँसो ३ बजे हुनेछ । सम्पूर्ण फुटबल प्रेमीहरुलाई खेलको मजा लिन निमन्त्रणा गर्दछु ।”


उनले कोरोनाको कारण रोकिएको खेलकुद गतिविधि यस प्रतियोगिताले अघि बढ्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । खेल मैदान प्रवेश शुल्क प्रतिव्यक्ति ५० रुपँया टिकट राखिएको समेत आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस