लगानी सम्मेलनको पहिलो दिनः फितलो व्यवस्थापन, जिज्ञासाविहीन लगानीकर्ता
१५ चैत, काठमाडौं । सरकारले निकै उत्साहका साथ आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुक्रबार शुरु भयो । तर, कमजोर व्यवस्थापन र लगानीकर्ताको उदासिनताले सम्मेलन अपेक्षित सफल हुनेमा आशंका उब्जिएको छ । उद्योगमन्त्रीले नै सिट नपाएपछि कार्यक्रम हलमा बस्न पाएनन् भने उद्घाटन समारोहमा आमन्त्रित धेरै लगानीकर्ता पनि अलपत्र परे ।
लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए ।
सम्मेलनमा लगानीका लागि लागत अनुमानसमेत उल्लेख गर ७७ वटा परियोजना प्रस्ताव गरिँदैछ । सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी विदेशी लगानीकर्तासहित १ हजारभन्दा बढी सहभागी रहेको लगानी बोर्डले जनाएको छ ।
जिज्ञासाबिहीन लगानीकर्ता
उद्घाटन शत्र सकिएपछि ‘नेपालमा लगानीका सम्भावना’ विषयमा प्लेनरी नाम दिएको छलफलको सत्र थियो । यसको अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली थिए । उनीसँगै अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज बैद्यले प्रस्तुती राखे ।
उनीहरुले भट्याइरहे, पातलो संख्यामा उपस्थित सहभागीहरुले उनीहरुको कुरा सुनिरहे । न त्यहाँ कुनै अन्तरक्रिया भयो त, न कुनै लगानीकर्ताले नेपालका लगानीको सम्भावनाका विषयमा कुनै जिज्ञासा राखे । उद्घाटन शत्रपछि टि ब्रेक भएका कारण पनि सहभागीहरुको संख्या एकदमै न्यून थियो ।
त्यसपछि खाना खाने ब्रेक । ब्रेक लगत्तै दुईवटा समानान्तर शत्रहरु । एउटा उर्जा सम्बन्धी र अर्को सूचना प्रविधिसम्बन्धी । दुबै शत्रमा विभागीय मन्त्रीहरुले अध्यक्षता गरेका थिए । उर्जामा वर्षमान पुन र प्रविधिमा गोकुल बास्कोटा । दुबै कार्यक्रममा पूर्वनिर्धारित वक्ताहरु थिए । वक्ताहरु सबैले आ-आफ्नो धारण राखे ।
दुई समानान्तर सत्र मध्येमा अलिकति चर्चा उर्जाको भयो । यस सत्रमा उर्जाको बजार कहाँसम्म छ, नेपाललेे कहाँ-कहाँसम्म विद्युत् बेच्न सक्छ भन्ने विषयमा वक्ताहरुले धारणा राखे । यसमा पावर चाइनाका प्रवन्ध निर्देशक र बंगलादेशका इन्जिनियरले उर्जाको सम्भावना राम्रो रहेको बताए । सत्रका अध्यक्षता गरेका मन्त्री पुनले दक्षिण एशिया मात्रै नभएर अन्य मुलुकहरुमा पनि बजार विस्तार गर्ने कुरा सुनाए । विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले पनि उर्जाको सम्भावनाका विषयमा छोटकरीमै आफ्नो भनाई टुग्यांए ।
प्रविधिका विषयमा पनि वक्ताहरुले केवल एकतर्फी बोलिरहे । केहिले सुने त बाँकी मोवाइलमै मस्त देखिन्थे । कुनै लगानीकर्ताले कुनै विषयमा जिज्ञासा राखेनन् ।




प्रतिकृया दिनुहोस